मिथिलाविहारीका प्रशासकीय अधिकृतसमेत सबैलाई सफाइ

जनकपुर डेस्क

प्रकाशित :  सोम, मंसिर १७, २०८१ society

SHARE 493


Province2

जनकपुरधाम ।धनुषाको मिथिलाविहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदरश यादवसहित चारजनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।


सोमबार विशेष अदालतले अनियमितता गरेको मुद्दामा फैसला गर्दै उनीहरुलाई सफाइ दिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार २१ गते मुद्दा चलाएको थियो । जसमा प्रमुख प्रशासकीय अधिकृत यादवका साथै लेखापाल सुभाषकुमार झा र जिन्सी शाखा प्रमुख तथा खरिदार उपेन्द्र यादवलाई प्रतिवादी बनाइएको थियो । 


सो नगरपालिकामा आर्थिक वर्ष ०७९÷८० मा सञ्चालित वडा नम्बर ९ को आधार भूत विद्यालय र रामजानकी प्राथमिक विद्यालयमा विद्यार्थी सिकाइ अभिवृद्धि कार्यक्रममा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको थियो। कुनै कामै नगरी भुक्तानी भएको दाबी गरिएको थियो । 


अनुसन्धानका क्रममा सो कार्यका लागि सार्वजनिक खरिद ऐन र नियमावलीबमोजिम लागत अनुमान गरी दरभाउपत्र आह्वान गरी खरिद मूल्यांकन गर्नुपर्नेमा सो नगरेको भेटिएको थियो। 
नगरपालिकामा सूचीकृत रहेको भनी ३ आपूर्तिकर्ताको झुटो दरभाउपत्र तयार गरी खरिद मूल्यांकन समितिको बैठकमार्फत मूल्यांकन नगराई कार्यालयको टिप्पणी आदेशबाट खरिद कार्य 
गरिएको थियो ।

विद्यार्थीहरूका लागि ७ प्रकारका २९५ सेट पोसाक मजदुर होजियरीका प्रोपाइटर रामसुन्दर साहबाट खरिद गरिएको थियो । खरिद गर्ने क्रममा नौ लाख ९६ हजार रुपैयाँ नगरपालिकाले भुक्तानी गरेको थियो । तर सोको वास्तविक मूल्य भने चार लाख ६१ हजार रुपैयाँ मात्र पर्ने अनुसन्धानले देखाएको थियो । सो घटनामा नगरपालिकाका तीन कर्मचारी र व्यवसायी 
साहमाथि मुद्दा दायर भएकोमा सफाइ दिने फैसला भएको हो। 
विशेषका सदस्यहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको छ ।


Tags :

फेसबुकबाट तपाईको प्रतिक्रिया

Facebook Page

ताजा अपडेट