सिटी टिभी/ जनकपुरधाम ।नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनुषा सभापति पदमा क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियारले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
आज जनकपुरधाममा आयोजना गरिएको उम्मेदवारी घोषणा सभामा सभापति पदका लागि पजियारको प्रस्ताव काँग्रेस पार्टीका प्रदेश २ संसदीय दलका नेता समेत रहेका भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवले गरेका छन् भने जिल्ला सभापति महेशशंकर गिरीले उनको प्रस्तावलाई समर्थन गरेका छन् ।
आगामी माघ १५ गते हुने कांग्रेसको जिल्ला अधिवेशनमा पजियार कांग्रेसका नेता विमलेन्द्र निधिको समूहबाट उम्मेदवारी घषणा गरेको छन् ।
उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै नेता पजियारले धनुषामा कमजोर रहेको पार्टीलाई बलियो बनाउन र अगामी तीनै तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउने मुख्य योजना रहेको बताए ।
उनले पार्टीको हालै सम्पन्न प्रदेश २ को अधिवेशनमा सरकार र सत्ताको दम्भ र धाकधम्कीहरु आएको दावी गर्दै जिल्ला अधिवेशनमा त्यस्तो कुनै षडयन्त्र नचल्ने बताए । तीन कार्यकाल धनुषा निर्वाचन क्षेत्र नं. ४ का सभापति चलाइ सकेका पजियारले पार्टीको स्थानीय तहको वडा , नगर देखि क्षेत्र सम्मको निर्वाचनमा सर्वसम्मतीले नेतृत्व चयन गर्न सफल भएको बताउँदै उनले सभापतिमा तिनजना उम्मेदवार भएपनि आफू पहिलो चरण मै जित्ने दावी समेत गरे ।
त्यसैगरी पजियारलाई सभापतिका लागि प्रस्ताव गरेका मन्त्री रामसरोज यादवले उम्मेदवारी घोषणा सभामा बोल्दै पजियारको नेतृत्वमा धनुषामा कांग्रेस एक हुने दावी गरे । उनले पजियारको नेतृत्वमा जिल्लामा कुशल नेतृत्व ल्याउन मतदातासँग आग्रह समेत गरे ।